काठमाडौं । आफ्नो मान्जयनसँगै भोलि शुक्रबार बडादसैँको टीका लगाइँदै छ । बडादसैँ नवदुर्गा भवानीको पूजाआराधना र मान्यजनको हातबाट टीका ग्रहण गरेर मनाइने गरिन्छ । यसर्थ यसवर्ष राजनीतिक दलका शीर्ष नेताहरूहरूको दसैं कस्तो हुनेछ भनेर यहाँ यसबारे जानकारी दिन खोजिएको छ ।
गत वर्ष कोरोना भाइरसका कारणले सबै नेपालीले दसैं, तिहारजस्ता चाडपर्व राम्रोसँग मनाउने पाएका थिएनन् । यसपटक संक्रमण पनि घटेको र प्रायजसोले कोरोनाविरुद्धको खोप लगाएको हुनाले सबै नेपालीले दसैं मनाउनेछन् ।
गत वर्ष संक्रमणका कारणले दसैं मनाउन नपाएका शीर्ष नेता यसपटक भने दसैं मनाउने तयारीमा छन् । शीर्ष नेतामध्ये प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल दुवैजनाका भाइको निधन भएकाले उहाँहरुले दसैँको टीका लगाउनुहुने छैन । हालै मिर्गौला प्रत्यारोपण गराए आउनुभएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि यसपटक दसैंमा आराम गरिरहनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दसैं काठमाडौंमा नै मनाउनुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले दसैं मनाउने हुनुभएको छ । उहाँले दसैंमा सबै सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्षको दसैं परिवारभित्र नै मनाउने तयारी गर्नुभएको छ । परिवारमा उहाँले छोरीहरू, ज्वाइँ नातिनातिनीसँगै नै उहाँले दसैं मनाउने तयारी गरेको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । नेता प्रचण्ड यसपटक चितवन जाने नजाने अझै टुंगो भइसकेको छैन ।
‘उहाँले दसैंमा घरपरिवारमा नै मनाउने गर्नुहुन्छ’ उहाँले भन्नुभयो ‘तर, यसपटकको ठ्याक्कै कार्यक्रम तय भएको छैन । अब चाँडै नै तय हुन्छ ।’ उहाँका अनुसार प्रचण्डले नेता तथा कार्यकर्तालाई भने टीका लगाइदिनुहुने छैन ।
यस्तै एमालेका पूर्व नेता वामदेव गौतमले यसपटक टीका लगाउनुहुने छैन । माइजुबाट टीका लगाउँदै आउनुभएका उहाँ यसपटक माइजुको जुठो परेकोले टीका नलगाउने हुनुभएको हो । उहाँ माइजुभन्दा पहिले एमाले नेतृ साहना प्रधानसँग टीका लगाउँदै आउनुभएको थियो । उहाँका स्वकीय सचिव दीपक टमटाका अनुसार नेता गौतमले यसपटक परिवारमा नै दसैं मनाउने हुनुभएको छ । परिवारका सदस्यभन्दा बाहिर कसैलाई पनि उहाँले टीका लगाउनुहुने छैन ।
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले यसपटक दसैं घरमै परिवारसँगै दसैं मनाउनुहुने भएको छ । उहाँले यसपटक आफू र अन्य नेता तथा कार्यकर्ता कसैलाई पनि टीका लगाउनुहुने छैन ।
भारतको नयाँदिल्लीबाट भर्खरै मिर्गौलाको उपचार गराएर आउनुभएका कारण उहाँ चिकित्सकले अझै तीन चार महिनासम्म कसैको सम्पर्कमा नजाने भनेकाले दसैँमा कसैलाई पनि टीका नलगाउने उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
‘उपचार गराएर आएपछि उहाँ अहिले पनि आराम गरिरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले यसपटकको दसैंमा उहाँ घरमै बस्नुहुन्छ । चिकित्सकको सल्लाहअनुसार संक्रमण फैलिने डरले उहाँ कसैको सम्पर्कमा जानुहुन्न । त्यसैले टीका कसैसँग पनि लगाउनुहुन्न र अरुलाई पनि लगाइदिनुहुन्न ।’ पहिले नेता खनाल दसैंमा गृहजिल्ला इलाम जाने गर्नुभएको थियो ।
यस्तै जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको दसैं काठमाडौंमा नै हुने भएको छ । उहाँ परिवारसँगै नै दसैं मनाउने तयारीमा हुनुहुन्छ । उहाँले आफ्नो बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गर्ने उहाँका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
यस्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटक दसैं नमनाउने हुनुभएको छ । उहाँका भाइको निधनको कारणले उहाँले दसैं नमनाउने उहाँका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो । अध्यक्ष ओली दसैं नमनाए पनि नवमीको दिन भने आफ्नो गृहजिल्ला झापा जाने उहाँले जानकारी दिनुभयो ।
यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दसैंमा काठमाडौंमा नै मनाउने हुनुभएको छ । उहाँका स्वकीय सचिव मोहन गौतमका अनुसार नेता नेपालले आफ्ना दाइ कृष्णकुमार पौडेलसँग टीका ग्रहण गर्नुहुनेछ । उहाँले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई पनि टीका लगाइदिने बताउनुभयो ।
यस्तै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यसपटक दसैं नमनाउने हुनुभएको छ । उहाँका स्वकीय सचिव चिरिञ्जीवि अधिकारीका अनुसार पौडेलका भाइ गोविन्द पौडेलको निधन भएकाले उहाँले यसपटक दसैं नमाउने हुनुभएको हो ।