भक्तपुर । दसैँको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि ल्याइएको छ । सोमबारदेखि खरिदका लागि ग्राहक आए पनि बुधबार बिहानैदेखि च्याङ्ग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भीड लागेको छ ।
जिल्लाका मात्रै नभई काठमाडौं र काभे्रदेखिका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आए पछि व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा रु एक हजार २०० मा बिक्री गरेका छन् । आजबाट भने अझै रु १०० मूल्य बढ्न सक्ने व्यापारी बताउँछन् ।
यो मूल्य गत वर्षको भन्दा दोब्बर मूल्य हो । यहाँका व्यापारीले गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु ७५० देखि रु ८०० सम्ममा बिक्री गरेकोमा यस वर्ष भने सुरुको मूल्य नै रु एक हजार २०० राखेका छन् ।
रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठ गत वर्षभन्दा यस वर्ष मुस्ताङको घरमै महँगो तिर्नुपरेकाले मूल्य बढेको बताउनुभयो । सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै उनले भने, ‘चीनबाट मुस्ताङसम्म ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा च्याङ्ग्रा प्रतिगोटा रु ४० हजार तिर्न परेकाले यस वर्ष च्याङ्ग्रा महँगो भएको हो ।
‘च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गरेर ल्याउनुपरेको जनाउँदै उहाँले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनुपर्ने र यहाँ किलोमा बिक्री गर्नुपर्दा च्याङ्ग्रा महँगो परेको उहाँको भनाइ छ ।
अर्का व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो रु १२ सयसम्ममा बिक्री गरेको जनाउँदै मुस्ताङमै च्याङ्ग्राको मूल्य बढेकाले यस वर्ष यहाँ पनि मूल्य बढेको बताउँछन् । उनले सानो च्याङ्ग्रा प्रतिगोटा रु ३६ हजार र ठूलो च्याङ्ग्रा रु ४० हजारमा व्यापारीले खरिद गरेर ल्याएको बताउँछन् ।