काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताउनुभएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यथार्थ कुरा बताउनुपर्ने सिंहको भनाइ थियो । उहाँले सरकार, सत्तारुढ दलभित्रका गठबन्धनका नेता र स्वयम् प्रधानन्यायाधीशले पनि हमालको विषयमा स्पष्टीकरण दिनुपर्ने बताउनुभयो ।
बुटबल पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शेरबहादुर देउवाले गरेको गल्तीको स्पष्टीकरण नेकपा माओवादी अध्यक्ष प्रचण्डले दिनुपरेको बताउनुभयो । ‘गल्ती सरकार विस्तारमा भयो अनि जवाफ चाहिँ हामीले दिनुपर्ने,’ उहाँले भन्नुभयो, ‘प्रचण्डजीले कांग्रेसले हो भनेर स्पष्टीकरण दिनुपरेको छ, जनताले पत्याउनु पर्यो नि । यो विषयमा प्रधानन्यायाधीश पनि विवादमा तानिएकाले स्पष्टीकरण दिनुपर्छ ।’
नेता सिंहले प्रधानमन्त्री देउवालाई आफू प्रम हुँदा घटाएको आईजीपी काण्ड र प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउँदा कांग्रेसले भोग्नुपरेको नतिजा सम्झन पनि अनुरोध गर्नुभयो । कांग्रेससँग २५ प्रतिशत सांसद नहुँदा पनि तत्कालीन प्रम केपी ओलीको विशेष निगाहले कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएको उहाँको भनाइ थियो ।
फरक प्रसंगमा उहाँले मोतिपुर घटनाको यथार्थ सार्वजनिक गर्न माग गर्नुभयो । गोली लागेर ४ जनाको ज्यान जानु दुःखद भन्दै उहाँले सरकारले मानव सुरक्षा गर्न नसकेको आरोप लगाउनुभयो । पैदल हिँडेर न्याय माग्न माइतीघर मण्डलामा आएकाहरुमाथि पुलिस लगाएको भन्दै उहाँले लोकतान्त्रिक पार्टीका सभापति तथा प्रधानमन्त्रीले जनताको दुःखलाई वेवास्ता गरेको बताउनुभयो ।