चितवन । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले संसद छाडेर जान एमालेलाई प्रचण्डले बक्सिस नदिएको बताउनुभएको छ । केही दिनअघि गृहजिल्ला आएका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार रूपमा संसद अवरुद्ध गर्दै आएको एमालेलाई संसद छाडेर जान आग्रह गर्नुभएको थियो ।
दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन मंगलबार चितवन पुग्नुभएका ज्ञवालीले संसद छाडेर जान एमाले सांसदलाई प्रचण्डले बक्सिस नदिएको बताउनुभयो । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ज्ञवालीले भन्नुभयो–‘एमालेलाई संसदमा पुर्याउने काम जनताले गरेका हुन् । जनताको इच्छा बेगर कसैले पनि हटाउने वा दायाँबायाँ गर्ने कुरै भएन ।’
एमालेलाई संसद छाडेर जान भन्नु प्रचण्डको पराजित मानसिकताको उपज मात्रै भएको उहाँले बताउनुभयो । ३२ साउनसम्म एमालेले संसद अवरुद्ध नगरेको बताउँदै उहाँले सभामुखले पदीय दायित्व पूरा नगरेपछि मात्रै संसद अवरुद्ध हुन थालेको बताउनुभयो । ‘सदन खोल्ने हो भने सभामुखले आफ्नो गल्तीलाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
वर्तमान गठबन्धनको सरकार देशका लागि बोझ बनेको बताउनुभएको छ । सरकार प्रारम्भदेखि नै गलत बाटोमा हिँडिरहेको उहाँले बताउनुभयो । ‘सरकार गलत बाटोमा हिँडिरहेको छ । त्यसो हुनाले जति दिनसम्म रहन्छ, त्यति दिनसम्म देशका लागि बोझ हुने स्थिति हामी देख्छौँ’, उहाँले भन्नुभयो ।
देउवा सरकार संविधानको अपव्याख्या अनुसार बनेको भन्दै उनले जनादेशबाट नभएर परमादेशबाट बनेको सरकार गलत बाटोमा हिँडेको उहाँले आरोप लगाउनुभयो । ‘सरकारले प्रारम्भदेखि नै संविधानका आधारभूत संरचना भत्काउने, राष्ट्रिय हितलाई आँच पुर्याउने र जनताको विरोधमा काम गरेको देखिएको छ’, उहाँले भन्नुभयो ।
सरकारले भूमि सम्बन्धि समस्या समाधामन आयोग विघटन गरेर सुकुम्बासीका सपनालाई नै विघटन गरेको उहाँले बताउनुभयो । ‘अर्थमन्त्रीले कालो धनलाई सेतो बनाउने गरी पैसाको स्रोत नखोजिने भन्नुभयो । जसले गर्दा नेपाल कालो सूचीमा पर्ने खतरा छ’, उहाँले भन्नुभयो, ‘पार्टी विशेषलाई विभाजन गर्न लोकतन्त्रका विधिका शासनको आधारभुत कुरालाई पनि सरकारले भत्काउने काम गर्यो ।’
रुपन्देहीमा सुकुमबासीमाथि गोली चलाइएको प्रसंगमा बोल्दै उहाँले समस्याको समाधान गोली नहुने बताउनुभयो । सुकुम्बासीका नाममा हुकुम्बासीले जग्गा कब्जा गर्न नपाइने तर सरकारले जनतामाथि गोली चलाएर गलत बाटोमा हिँडेको उहाँले बताउनुभयो ।