Margadarsan


  • कास्कीमा जिप दुर्घटना, ८ जनाको मृत्यु

    मार्गदर्शन २५ आश्विन २०७८, सोमबार

    पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

    नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो । जिपमा नौजना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न सफल भएको कास्की प्रहरीले जनाएको छ ।

    सबै शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइसकेको घान्द्रुक प्रहरी चौकीका प्रमुख सोमबहादुर कुवँरले जानकारी दिए ।

    ‘एकजना महिला बाँच्न सफल हुनुभएको छ । अरु सबैको घटनास्थलमै मृत्यु भयो,’ उनले भने, ‘पोष्टमार्टमका लागि गाडीमा हालेर गण्डकी अस्पताल पठाएका छौं ।’ उनीहरू दसैंको समयमा काठमाडौंबाट घुम्न आएका थिए ।

    मृत्यु हुनेमा एकजना जिप चालक खुशीमान क्षेत्रीको पहिचान भएको छ भने अरुको पहिचान हुने क्रममा रहेको प्रहरीले जनाएको छ । शवहरू चिन्ने अवस्थामा समेत नरहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया