काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै चौतर्फी विरोध भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आज मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

मन्त्री हमालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउनुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमालले राजीनामा दिएर फर्किनुभएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि विवादमा नफस्ने भन्दै उहाँले स्वविवेकले राजीनामा दिएको बताउनुभएको छ । उहाँ असोज २२ गते मन्त्री नियुक्त हुनुभएको थियो । उहाँ मन्त्री बन्नुभएको तीन दिनमात्र भएको थियो ।

मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ । हमाल मन्त्री भएपछि कानुनविद्हरूले समेत विरोध गरिरहेका छन् ।