तेह्रथुम । तेह्रथुमको पश्चिमी क्षेत्रका किसानहरू गाउँमै स्थापना भएको छुर्पी उद्योगमा दूध खपत हुन थालेपछि वर्षाैको समस्याबाट मुक्त भएका छन् । यससँगै किसानले राहतको अनुवभ गरेका छन् । जिल्लाको लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाका गाउँ गाउँमा दुध खपत हुन थालेपछि यहाँका किसानहरू दूध खपत नहुने समस्याबाट मुक्त भएका हुन् ।
गाउँमा उद्योग नहुदा जिल्ला बाहिर धरान, विराटनगरलगायतका स्थानमा निर्यात गर्दै आएका किसानलाई अहिले गाउँमै दूध खपत हुँदा सजिलाे भएकाे हाे । दूध संकलन केन्द्रहरूमा दैनिक विद्युत आपुर्ती नहुँदा समस्या हुने गर्दथ्याे । बर्खायामा सडम हिलाम्मे हुँदा दूध ढुवानीमा झन समस्या हुने गर्दथ्याे ।
दूध बिक्रीबाट राम्रो आम्दानी लिँदै आएका यस क्षेत्रका किसानहरूलाई उद्योग स्थापनाले थप हौसिला मिलेको स्थानीय भुपाल बुढाथोकीले बताए । निजी तथा सहकारी संस्थाहरूले छुर्पी उद्योगहरु स्थापना गरी दूध खपत गर्दै आएका छन् । किसानहरूले पाउँदै आएको दूधको मुल्यमा थप ६ रुपैयाँ पाउने भएका छन् ।
दूधको गुणस्तरको आधारमा प्रतिलिटर ४२ रुपैयाँदेखि ६० रुपैयाँ पाउँदै आएका किसानले अब ४८ रुपैयाँदेखि ६६ रुपैयाँ पाउने भएको छथर दूग्ध सहकारी संस्थाका व्यवस्थापक लोकेन्द्र बुढाथोकीले बताए । गाउँमा स्थापना भएको छुर्पी उद्योगमा दूध बिक्री हुन थालेपिछ दूध बिक्री गर्न र परिवार धान्नसमेत सहज भएको छ ।
यहाँ स्थापना भएका उद्योगहरूले घ्यू, छुर्पी,पनिरलगायत उत्पादन गर्दै आएका छन् । उद्योग बाहिर दूध बिक्री गर्दा ढुवानी र विद्युतमा खर्च हुने गरेको भए पनि किसानले राम्रो मुल्य पाएका थिएनन् । आफ्नै उद्योगमा दूध खपत गर्न थालेपछि किसानलाई सजिलाे भएको बुढाथोकीको भनाइ छ ।
किसानले थप मुल्य मात्र पाएका छैनन् यहाँका युवाहरूले पनि रोजगारी पाउन थालेका छन् । रोजगारको लागि भौतारीरहेका युवाहरू गाउँमा स्थापना भएका उद्योगहरूमा काम गर्दै आएका छन् ।
यहाँका किसानले परम्परागत रुपमा पाल्दै आएको गाई पालनलाई व्यावसायीक बनाउन थालेका छन् । प्रतिकिसान पाँच लिटरदेखि ४० लिटर सम्म दूध उत्पादन गर्दै आएका छन् । किसानहरूलाई थप व्यावसायीक बनाउन दूग्ध उत्पादक जिल्ला सहकारी संंघ तेह्रथुमले विधिन्न तहका सरकारको सहकार्यमा कार्यक्रमहरू गर्दै आएको संघका अध्यक्ष बुद्धीमान खुलालले बताउनुभयो ।
यहाँका किसानले जर्सी, होलेस्टेनलगायत उन्नत जातका गाई पाल्दै आएका छन् । दूध बिक्रीबाट प्रतिकिसानले वार्षिक एकदेखि पाँच लाख रुपैयाँ लिँदै आएका छन् । दुग्ध व्यवसायलाई थप व्यवस्थित बनाउँदै लैजाने हो भने किसानको जीवनस्तर उकास्न टेवा पुग्ने बुढाथाेकीले बताउनुभयो ।