सुनसरी । देउवा सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बताउन बाटो खुला गरिदिएको नेकपा एमालेका नेता सुवास नेम्वाङले आरोप लगाउनुभएको छ । सुनसरीको इटहरीमा पुराना वामपन्थी नेता ओम कोइराला नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेले संसद् भवनमा विरोध गर्दागर्दै जबरजस्ती विधेयक पास गरिएको बताउनुभयो ।
नेता नेम्वाङले नेकपा माओवादी केन्द्रतर्फ संकेत गर्दै सरकारले द्वन्द्व कालमा लुटपाट गरेर राखिएको धनलाई बाहिर ल्याउने प्रशस्त बाटो खाली गरेको आरोप लगाउनुभयो । ‘लाख, करोड हैन अरब पैसा ल्याउनुहोस् कुनै स्रोत देखाउनुपर्दैन । यो भनेको लुटपाट, डकैती गरेर, अवैध सम्पत्तिलाई सेतो बनाउ भन्न खोजेको हैन ?’, उहाँले प्रश्न गर्नुभयो ।
एमालेको विरोधका बीच विधेयक पास गरिनु गलत भएको उहाँले बताउनुभयो । ‘अहिले म सुन्दै छु, नेपालको सम्बन्धित प्रतिनिधि मण्डल जाँच गर्न आउँदै छ । यदि यो गलत रहेछ भनेर कालो लिष्टेट गरिदियो भने हाम्रो हालत के हुन्छ ?,’ उहाँले भन्नुभयो ।
उहाँले संविधानको मर्म विपरित सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको बताउनुभयो । उहाँले जनभावना विपरित कदम भएको टिप्पणी गर्नुभयो । कार्यक्रममा कोइरालाले लेखेका ‘राजनीतिक जीवन यात्रा र राजनीतिक लेखहरू’ पुस्तकको लोकार्पण गरिएको थियो ।