काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पठाएका चार मन्त्रीहरूमा यादव समुदायको मात्रै बाहुल्यता भएपछि पार्टीमा असन्तुष्टि देखिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाएका चारमध्ये तीनजना यादव परेपछि जसपाभित्र असन्तुष्टि देखापरेको हो ।
महन्थ ठाकुर नेतृृत्व छाडेर अध्यक्ष यादवतिर लागेका प्रमोद साहले त सामाजिक सञ्जालबाट नै विरोध गर्नुभएको छ । अध्यक्ष यादवले देउवा सरकारमा रेणु यादव, रामसहाय यादव र महेन्द्रराय यादवलाई मन्त्रीमा छनोट गर्नुभएको छ । गैर यादव समुदायबाट राजेन्द्र श्रेष्ठमात्रै मन्त्री हुनुहुन्छ ।
सोही घटनालाई लिएर सांसद साहले लेख्नुभएको छ, ‘आज पनि हाम्रो पार्टी नेतृत्वले गरेको निर्णय एकल जातीय अहंकार र दमन शोषणको नमुना रहेको ठहर गर्दछु, हाम्रो पार्टीका अध्यक्षद्वयज्यूले मन्त्रिमण्डलमा समावेश हुनेहरूका नाम समावेशी सिद्धान्तका आधारमा गर्नुपर्ने थियो तर टुंगो लगाउँदा एकल जातीय सोच र व्यक्तिवादी चरित्र देखियो ।’
उहाँका अनुसार सो प्रवृत्ति र कार्यशैलीले पार्टीका लागि क्षति पुगेको छ । त्यसो त पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएपछि वीरगञ्जमा जसपाका कार्यकर्ताले अध्यक्ष यादवको पुत्ला दहन गरेका छन् भने अध्यक्ष यादवका पुत्र अमरेन्द्र यादवले पनि श्रेष्ठ र रामसहायको नियुक्तिबाहेक अन्यको विरोध गरेका छन् ।
जसपाका शीर्ष नेताहरूले शुक्रबार बिहानसम्म प्रमोद साहको नाम मन्त्रीमा चयन गरे पनि दिउँसो राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्तीको सूचना आउँदा उहाँको नाम काटिएको थियो ।