काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झन्डै तीन महिना अर्थात् ८७औँ दिनपछि आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने सम्भावना रहेको छ । । प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ ।
नाम प्राप्त हुनासाथ आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको छ ।
सत्तासाझेदार नेकपा माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) भने आन्तरिक छलफलमा छन् ।
कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति यसअघि नै जुटिसकेको छ ।
दलहरूबीच बिहीबार पनि छलफल भएको थियो । देउवा २९ असारमा प्रधानमन्त्री बन्नुभएको थियो । देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै सर्वत्र आलोचना भएको छ ।