काठमाडौं । विश्व बैंकले नेपालको चालु आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशतमात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।
नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्तिको लक्ष्य राखेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा २.१ प्रतिशतले ऋणात्मक रहेको नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७७/७८ मा १.८ प्रतिशत मात्र वृद्धिदर भएको विश्व बैंकले जनाएको छ ।
कोभिड महामारीका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव क्रमशः कम हुँदै जाँदा यसले अर्थतन्त्र बिस्तारै सुधारोन्मुख अवस्थामा रहेको देखिएको छ । खासगरी खोप अभियान तीव्र गरिएका कारण वैदेशिक रोजगारी र पर्यटन क्षेत्रमा समेत सकारात्मक सुधार देखिन थालेको छ । विश्व बैंकले साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । सामाजिक दूरी कायम गर्दै आर्थिक गतिविधिलाई निरन्तरता नदिने हो भने आर्थिक संकट अझ गहिरो बन्न सक्ने विश्व बैंकले उल्लेख गरेको छ ।
यो वर्ष समग्र दक्षिण एसियाली मुलुकले भने आर्थिक वृद्धिदरमा फड्को मार्ने विश्व बैंकको प्रक्षेपण छ । यसमा सबैभन्दा ठूलो योगदान पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकको रहने छ ।
दक्षिण एसियाको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने छ । यसमा सबैभन्दा बढी माल्दिभ्सको ११ प्रतिशत योगदान रहने छ । भारतको ७.५ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने देखिएको छ । सबैभन्दा कम श्रीलंकाको २.१ प्रतिशत मात्र रहने देखिएको छ । बंगलादेशले भने ६.४ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिएको छ । भुटान, पाकिस्तान र नेपाल भने उस्तै प्रकारको अवस्थामा रहने देखिएको छ ।