काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक निरन्तर अवरूद्ध गर्दै आएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भन्दै नाराबाजीसमेत गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरेका हुन् ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।
एमालेको अवरोधका बीच सभामुख अग्नीप्रसाद सापकोटाले कानुनमन्त्री ज्ञानेन्द्रबहाद्र कार्कीलाई राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्न अनुमति दिएका थिए । मन्त्री कार्कीले प्रतिवेदन पेश गरेसँगै आजको बैठक स्थगित गरिएको छ । अब संसद्को अर्को बैठक असोज २२ गते बस्नेछ ।