काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीनबुँदे सहमति तत्काल अक्षरसः कार्यान्वयन गर्न माग गरेको छ ।
सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुन: ध्यानाकर्षण गर्नुभयो । विप्लवले विज्ञप्ति जारी गर्दै बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा रहेको तर त्यही कार्यान्वनय नभएको भन्दै अविलम्ब कार्यान्वयनका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गर्नुभएको छ ।
आफ्नो पार्टी सहमति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको भन्दै विप्लवले भन्नुभएको छ, ‘विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गर्दछौं ।’
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबितिकै आफूले तीन बुँदे सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको स्मरण गर्दै विप्लवले तीन महिनासम्म पनि कार्यकर्ता रिहा नहुनुले आशंका जन्माएको बताउनुभएको छ ।
विप्लवले नयाँ सरकार बन्नेबित्तिकै सत्ता गठबन्धका प्राय: सबै नेतालाई समेत भेटेर तीन बुँदे कार्यान्वयनका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लवसँग गरेको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने, बन्दी रिहा गर्ने, मुद्दा फिर्ता लिने र विप्लवले शान्तिपूर्णरुपमा राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने उल्लेख गरिएको थियो । तर देउवा सरकार बनेपछि त्यो सहमति कार्यान्वयन हुने कुनै संकेत देखिएको छैन ।

























