काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच आज बसेको राष्ट्रियसभामा चारवटा विधेयक पेश भएका छन् । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अखिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयक पेश गरिएको हो ।
नेकपा एमालेका सांसदहरुले विरोध जनाएर उभिरहेका बेला प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चारवटा विधेयकहरु पेश गर्नुभएको थियो । यसका साथै चारवटै विधेयकहरु दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
मन्त्री कार्कीले नै महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ पनि राष्ट्रियसभामा पेश गर्नुभएको छ ।
त्यसअघि बैठक सुरु हुनासाथ एमाले सांसदहरुले आ-आफ्नो आसनबाट उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पार्वती रावललाई बोल्ने समय दिनुभयो । उहाँले सरकारले दल विभाजन विधेयक ल्याएको लगायतका कारण विरोध जारी रहेको बताउनुभयो । उहाँले विरोध रहेको कुरा नोटिस रहेको भन्दै बस्न आग्रह गर्नुभए पनि एमाले सांसदहरुले विरोध गरिरहनुभयो ।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले खिमलाल देवकोटालाई बोल्ने समय उपलब्ध गराउनुभयो । उहाँले लगातार विरोध जनाउँदा आफूहरु बोल्न नपाएको र सांसदहरुले सभामुखप्रति अमर्यादित शव्द प्रयोग गरेको भन्दै नियमापत्ती गर्नुभयो ।
अध्यक्ष तिमल्सिनाले फेरि सदनको कारबाही नियमित गर्न सहयोग गर्न आग्रह गर्दै सांसदहरुलाई बस्न आग्रह गर्दा पनि एमाले सांसदहरुले विरोध जारी राख्दै उभिइरहनुभयो । विरोध जारी रहेपछि अध्यक्ष तिमिल्सिनाले कार्यसूचीका ३ र ४ नम्बर बुँदा हटाइएको जानकारी गराउनुभयो । कार्यसूचीको बुँदा नम्बर ३ मा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागमन विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने उल्लेख थियो ।
यसैगरी बुँदा नम्बर ४ मा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फौजदारी कसुर तथा फौजदार कार्य सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७८ र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७८ पेश गर्ने उल्लेख थियो ।
एमाले सांसदहरुको विरोधका बीच राष्ट्रिय सभामा राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको र राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएको पत्र वाचन गर्नुभयो । राष्ट्रियसभाको बैठक असोज २४ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

























