काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५१ प्रतिशत नेपाली जनता अहिले पनि एमालेको पक्षमा रहेकोले एमालेले आगामी चुनावमा ढुक्कले बहुमतका साथ चुनाव जित्ने दाबी गर्नुभएको छ । शुक्रबारदेखि जारी विधान महाधिवेशनलाई आइतवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

जारी विधान महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै अध्यक्ष ओलीले आगामी चुनावमा पनि एमालेले नै जित्नेमा आफू ढुक्क रहेको दाबी गर्नुभयो । उहाँले एमालेको सरकारको पालामा मात्र विकास भएको भन्दै जनताले फेरि पनि एमालेलाई नै रोज्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

एमालेको दोस्रो कार्यकालमा कयौँ विकासका काम गरेको बताउनुहुँदै उहाँले सडक मानव व्यवस्थापनदेखि मेलम्चीको पानी काठमाडौं ल्याएको तथा कयौँ ठूला विकासका काम गरेको जिकिर गर्नुभयो । ‘५१ प्रतिशत नेपाली जनता एमालेको पक्षमा छ, उहाँले भन्नुभयो, ‘हाम्रो पालाका सरकारको विकासमुखी सोचले नै यो सम्भव भएको हो ।’

अध्यक्ष ओलीले एमालेले अब लगातार चुनाव जित्ने दाबी गर्नुभयो । ‘हामीले हिजो पनि जितेका हौँ, आज पनि जित्छौँ, भोलि पनि जित्दैछौँ, हामी जित्दैछौँ,’ उहाँले भन्नुभयो ।

उहाँले एमाले अब सानातिना धक्काले नरोकिने बताउँदै थप्नुभयो, ‘सानातिना धक्का र हावाका झोक्काहरुले अब हाम्रो विजय यात्रालाई प्रतिकूल प्रभाव पार्न सक्दैन ।’