काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा हानाहान भएको छ । नेपाली कांग्रेसको बृहत् कार्यकर्ता भेलामा हानाहान भएको हो ।आइतबार दिउँसो नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको छ । झडपमा आधा दर्जनजति कार्यकर्ता घाइते भएका छन् ।केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी कार्यक्रममा झडप भएको हो ।
भेलामा कार्यक्रम भइरहेका बेला देउवा पक्षले कालो झण्डा देखाउन खोज्दा झडप भएको बताइएको छ । हानाहानपछि पनि कार्यक्रम भने जारी रहेको जनाइएको छ । जिल्ला सभापति कर्णबहादुर मल्ल र देउवाबीच बेलाबेलामा झडप हुने गरेको स्रोतले जानकारी दिएको छ ।
यसअघि वरिष्ठ नेता पौडेलले डडेल्धुरामा जिल्ला कार्यसमितिको सहमति र सहभागिताबिना वडा अधिवेशन गरिएपछि धाँधली भएको आरोप लगाउनुभएको थियो । उहाँले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवामाथि डडेल्धुरामा प्रशासनिक शक्तिको दुरुपयोग गरेर अधिवेशन गराएको पनि आरोप छ ।
वरिष्ठ नेता पौडेलले प्रशासनिक शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन गराएकाले त्यसलाई बदर गर्नुपर्ने माग गर्नुभएको छ । कांग्रेसको इतिहासमै आन्तरिक निर्वाचनमा शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक भएको उहाँले बताइसक्नुभएको थियो ।
नेपाली कांग्रेस डडेल्धुराले पनि यसअघि नै एकलौटी रुपमा गरिएको वडा अधिवेशन स्वीकार नगर्ने बताइसकेको थियो । जिल्ला सभापति कर्णबहादुर मल्लले समन्वय नै नगरी निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले गरेको वडा अधिवेशन स्वीकार नगर्ने भनिसक्नुभएको थियो ।
‘जिल्ला कार्यसमिति डडेल्धुराले आफूहरुको आग्रहलाई बेवास्ता गर्दै देउवा पक्षले गत भदौ २५ गते राज्य शक्ति र सत्ताको दुरुपयोग गर्दै देउवाको हस्तक्षेपमा धाँधली गर्दै अधिवेशन गरेको आरोप लगाइरहेको छ ।
उक्त प्रक्रियालाई पौडेल समूहले पूर्ण अवैधानिक, एकपक्षीय अलोकतान्त्रिक रहेको बताउँदै पुनस्अधिवेशन गर्नुपर्ने अडान राखेको छ । उता त्यही निर्वाचनलाई लिएर जिल्ला पार्टी कार्यालयस्थित किसुनजी भवनमा १० दिनदेखि कांग्रेस कार्यकर्ता अनशनरत छन् ।
























