काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भएको बताउनु भएको छ । तीन दिनदेखि जारी पार्टी प्रथम विधान महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै आइतबार अध्यक्ष ओलीले एमालेमाथि चौतर्फी आक्रमण भएका बताउनु भएको छ ।
एमालेको विचार र संगठनमाथि आक्रमण भएको भन्दै उहाँले एमाले कमिटी र सामूहिक नेतृत्व र छलफलमा विश्वास गर्ने बताउनु भएको छ ।
विधान महाधिवेशनका बेला गरिएको प्रचार प्रसार र अध्यक्ष ओलीलाई देवत्वकरण गरिएको भन्दै टिप्पणी भएकोप्रति पनि जवाफ दिँदै अध्यक्ष ओलीले भन्नु भयो ‘एमालेमाथि चौतर्फी हमला भएका छन् । विचार र संगठनमाथि हमला भएको छ । एमालेको महाधिवशेनमा ब्यानर र झण्डा नदेखिए के देखिन्छ त । हामी व्यक्ति पूजक होइनौँ, हामी अन्धधर्ममा विश्वास गर्दैनौँ । कमिटी र सामूहिक नेतृत्व र छलफलमा विश्वास गर्छौँ ।’
आफ्नो नेतृत्वमा सरकार बनेपछि खुइल्याउने काम भएको भन्दै उहाँले थप्नु भयो, ‘मेरो नेतृत्वको पहिलो सरकार बनेपछि पनि उधुम खोइरो खन्ने काम भयो । खुइल्याउने काम भयो । यस पटक संविधान जारी भएपछि बनेको पहिलो सरकारविरुद्ध पनि यो देखियो ।’
अध्यक्ष ओलीले माधवकुमार नेपालसँग गएका नेता तथा कार्यकर्तालाई फर्काउन पहल थाल्न आह्वान पनि गर्नु भएको छ ।
उहाँले अलमलमा र झुक्याएर लगिएका नेता तथा कार्यकर्तालाई फर्काउन आह्वान गगर्नु भएको हो ।
यसका लागि केन्द्रबाट पनि प्रयास हुने र तल्लो तहबाट पनि प्रयास थाल्न ओलीले आग्रह गर्नु भएको छ । ‘भ्रममा परेकालाई हामी पनि फर्काउने प्रयास गर्छौं, तलबाट तपाइँहरू पनि प्रयास गर्नुहोला’, अध्यक्ष ओलीले भन्नुभयो ।
यस्तै उहाँले अहिले तत्कालका लागि एमालेलाई ५१ प्रतिशत जनता चाहिएको बताउनु भएको छ ।
























