काठमाडौं । मन्त्रालय भागबण्डा गर्न सत्तारूड दलको बैठक बालुवाटरमा बसिरहेको छ । बिहान ९ बजेदेखि बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रतिनिधिको सहभागिता रहेको छ ।

माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालका अनुसार अहिले पाँच दलको बैठक बसिरहेको छ । उहाँले आजको बैठकले मन्त्रिमण्डल विस्तारका लागि नेताहरुको नाम टुङ्गो लगाउने जानकारी दिनुभयो ।

आइतबार बस्ने स्थायी समिति बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम छनोट गर्ने बताइएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आइतबार बस्ने बैठकले मन्त्रि बन्ने नेताको नाममा छलफल गरेर टुङ्ग्याउने बताउनुभएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ ।

सत्तारुढ गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५,५ मन्त्रालय राख्ने सहमति भएको बताइएको छ ।