काठमाडौं । दुई दिनअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)परित्याग गर्नुभएका राजकुमार लेखीलगायतको ठूलै जमात आज एमाले प्रवेश गर्न लागेको छ । गोदावारीमा भइरहेको विधान महाधिवेशनबाट आज एमाले प्रवेश गर्ने कार्यक्रम छ । लेखीसहितको ठूलो समूहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम छ ।

लेखीले २०६८ सालमा एमाले परित्याग गरी नागरिक पार्टी गठन गर्नुभएको थियो ।

लेखीले २०४० सालदेखि एमालेको विद्यार्थी संगठनमा काम गर्नुभएको थियो । वामपन्थी राजनीतिप्रति झुकाव राख्ने लेखीले २०४६ सालपछि नेकपा एमालेबाट सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

एमालेमा रहँदा उहाँ काठमाडौं–सप्तरी सम्पर्क मञ्चको अध्यक्ष, एमाले सगरमाथा अञ्चल सम्पर्क कमिटीको सचिव, युवा संघ नेपालको केन्द्रीय सदस्य, युवा संघ नेपालको केन्द्रीय प्रचार विभाग सदस्य, नेकपा एमाले केन्द्रीय समितिको संघीय मामिला विभाग र सम्पर्क वभाग सदस्य, एमाले लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सचिवालय सदस्यको रुपमा काम गर्नुभएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहनुभएका लेखी १० वर्षपछि एमालेमै प्रवेश गर्न लाग्नुभएको हो ।