काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनको आज तेस्रो अर्थात अन्तिम दिन अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले प्रतिवेदनमाथि प्राप्त सुझावमा उठेका प्रश्नहरूको जवाफ दिँदै हुनुहुन्छ ।

समूहगत छलफलबाट प्रतिवेदनमाथि प्राप्त सुझावमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान संशोधनमा उपमहासचिव पौडेलले जवाफ दिनुहुनेछ ।

प्रथम विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावउपर शनिवार पाँच समूहबाट सुझाव प्रस्तुत गरिएको थियो ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शनिवार केन्द्रीय निकाय तथा विभाग, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पाँच समूहका टोली नेताले समूहबाट आएका सुझाव प्रस्तुत गरेका थिए ।

महाधिवेशनमा शुक्रवार पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

तीनै प्रतिवेदनमाथि शनिवार पहिलो चरणमा १० समूहमा विभाजित प्रतिनिधिले छलफल र दोस्रो चरणमा ती प्रतिवेदनमाथि समूहगत रूपमा उठेका सुझाव समूह नेताहरूले प्रस्तुति गर्नुभएको थियो  । बाँकी पाँच समूहका टोली नेताको प्रस्तुति आज हुने भएको छ ।

शुक्रवारदेखि सुरु भएको विधान महाधिवेशन आजसम्म सञ्चालन हुनेछ । महाधिवेशनमा ६ हजार ३४७ जना प्रतिनिधि सहभागी रहेको जनाइएको छ ।