काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसमा चलिरहेको क्रियाशील सदस्यता विवाद र अधिवेशनमा धाँधली गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गरेको छ ।
यही मोर्चाबन्दीका क्रममा वरिष्ठ नेता पौडेल समूहका केही नेताहरु सभापति एवम् प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरा जाने तयारी गरेका छन् । पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध अनशनरत डडेल्धुरा कांग्रेसका नेता कार्यकर्तालाई साथ दिन डा शेखर कोइरालासहितका नेताहरु डडेल्धुरा जाँदै हुनुहुन्छ ।
डा कोइरालाको नेतृत्वमा नेताहरु अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष केशव सिंह र राजनीतिक विश्लेषक पुरञ्जन आचार्य डडेल्धुरा जान लाग्नुभएको हो ।
डा कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार उहाँहरु आइतवार काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी जानुहुनेछ । त्यहाँबाट उहाँहरु सडकमार्गबाट डडेल्धुरा जाने तयारी गरिएको छ ।
देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला कार्यसमितिको असहमतिबीच गाउँपालिका, नगरपालिका वडा अधिवेशन गरिएको थियो ।
वरिष्ठ नेता पौडेलले डडेल्धुरामा जिल्ला कार्यसमितिको सहमति र सहभागिताबिना वडा अधिवेशन गरिएपछि धाँधली भएको आरोप लगाउँदै आउनुभएको छ । उहाँले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले डडेल्धुरामा प्रशासनिक शक्तिको दुरुपयोग गरेर अधिवेशन गराएको पनि आरोप लगाउनुभयो । पौडेलले प्रशासनिक शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन गराएकाले त्यसलाई बदर गर्नुपर्ने माग गर्नुभएको छ । कांग्रेसको इतिहासमै आन्तरिक निर्वाचनमा शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक भएको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस डडेल्धुराले पनि यसअघि नै एकलौटी रुपमा गरिएको वडा अधिवेशन स्वीकार नगर्ने बताइसकेको छ । जिल्ला सभापति कर्णबहादुर मल्लले समन्वय नै नगरी निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले गरेको वडा अधिवेशन स्वीकार नगर्ने भनिसक्नुभएको छ ।
‘जिल्ला कार्यसमिति डडेल्धुराले आफूहरुको आग्रहलाई बेवास्ता गर्दै देउवा पक्षले गत भदौ २५ गते राज्य शक्ति र सत्ताको दुरुपयोग गर्दै देउवाको हस्तक्षेपमा धाँधली गर्दै अधिवेशन गरेको आरोप लगाइरहेको छ।
उक्त प्रक्रियालाई पौडेल समूहले पूर्ण अवैधानिक, एकपक्षीय अलोकतान्त्रिक रहेको बताउँदै पुनस्अधिवेशन गर्नुपर्ने अडान राखेको छ । उता त्यही निर्वाचनलाई लिएर जिल्ला पार्टी कार्यालयस्थित किसुनजी भवनमा १० दिनदेखि कांग्रेस कार्यकर्ता अनशनरत छन् ।
क्रियाशील सदस्यता विवाद कायमै रहेको अवस्थामा गत भदौ २५ गते देउवा पक्षले पेलेर अधिवेशन गरिसकेको छ । त्यसलाई खारेजीको माग गर्दै उनीहरुले रिले अनशन बसिरहेका छन् ।
देउवाले हस्तक्षेप गरेर अवैधानिक वडा र पालिका अधिवेशन गराएको भन्दै बदर गरी नयाँ मिति तोक्नुपर्ने माग राखेर जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले अनशन थालेको छ । उक्त अनशनमा ऐक्यबद्धता जनाउँदै सम्बोधन गर्न केन्द्रीय नेताहरु डडेल्धुरा जान लाग्नुभएको हो ।