काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको शुक्रबारदेखि जारी विधान महाधिवेशनमा शनिबार चार समूहका टोली नेताले सुझाव पेश गर्नुभएको छ । १० समूहमध्ये चारले शनिबार सुझावहरु राख्नुभएको हो ।

१० समूहमध्येका अब बाँकी ६ समूहका नेताले भोलि आइतबार राख्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभएको छ । महाधिवेशनमा पेश भएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा आएका सुझावहरुलाई समूहका नेताले प्रस्तुत गर्नुभएको हो ।

कार्यालय सचिव तामाङका अनुसार कर्णालीबाट गोरखबहादुर बोगटी, लुम्बिनीबाट लिला गिरी, सुदूरपश्चिमबाट कर्ण थापा र बागमतीबाट आनन्द पोखरेलले प्रदेशगत समूहको सुझाव प्रस्तुत गर्नुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि १० वटा समूहमा छलफल भएको थियो । समूहका टोली नेताले छलफलबाट आएको सुझावलाई प्रस्तुत गर्नुभएको हो  । यो क्रम भोलि आइतबार पनि जारी रहनेछ ।