काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनको आज दाेस्रो दिन केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलनको हलमा शनिबार आयोगका अध्यक्ष अमृत कुमार बोहराले समूहगत छलफलका लागि प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । यसपछि शुक्रबार प्रस्तुत तीनवटा प्रतिवेदनमाथि १० वटा समूहमा भएको छलफलबाट आएका सुझावहरु टोली नेताले प्रस्तुत गर्ने कार्यक्रम छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सम्पन्न भएको छ ।
पहिलो दिन शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरिसक्नुभएको छ । नेकपा एमालेको ऐतिहासिक विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी भएका छन् ।
























