काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अब राजनीतिबाट विश्राम लिँदा उपयुक्त हुने बताउनुभएको छ । काँग्रेस काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्नुहुँदै नेता सिंहले यस्तो बताउनुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले काम गर्न नसक्नेहरूको गुणगान नगाउन कार्यकर्ताहरूलाई अपिल समेत गर्नुभएको छ ।

‘१३औँ महाधिवेशन पश्चात् उहाँहरूले अवसर त पाएकै हो नि । तर, क्रियाशील मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘अनि किन गुणगान गाउने ?’ नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आऊ भन्ने अवस्था आएको पनि दावी गर्नुभयो ।

आफूले २०७४ सालमा काँग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै आफूले सभापति देउवालाई असफल नेता भएकाले राजीनामा दिन माग गरेको बताउनुभयो । सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई बाइपास गरेर शक्ति प्रदर्शन गरेको उहाँले आरोप लगाउनुभयो ।

सभापति देउवाले लोकतान्त्रिक दल नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको आरोप लगाउनुभयो । ‘पार्टी सभापतिकै जिल्लाको अनशन पार्टी अफिसमा, जिल्ला सभापतिलाई शक्ति देखाएर बाइपास गरेको छ,’ उहाँले भन्नुभयो, ‘देश लोकतान्त्रिक बनाउने पार्टीलाई लोकतान्त्रिक भन्ने तर आफ्नै पार्टीको लोकतन्त्रलाई बेवास्ता गर्ने ?’