काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनअन्तर्गत आज दोस्रो दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न भएको छ ।

महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सम्पन्न भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।  उहाँकाअनुसार छलफलमा आएका सुझावहरुलाई केही बेरमा टोली नेताले प्रस्तुत गर्नुहुनेछ  ।

पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो  ।

समूहको निष्कर्षपछि भोलि (आइतबार) महाधिवेशन सकिने छ । दस्तावेजहरुमाथि छलफल गर्न हिजै १० वटा समूह गठन गरिएको थियो । महाधिवेशनमा एमालेका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । १० वटा समूहलाई सहजीकरण गर्न २० जना नेतालाई जिम्मेवारी दिइएको छ ।