काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस काठमाडौँको आज नगर अधिवेशन हुने भएको छ । ११ वटा नगरपालिकामध्ये १० वटामा शनिबार अधिवेशन हुन लागेको हो ।
दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन बाँकी रहेकाले आज नगर अधिवेशन नहुने नेपाली कांग्रेसले जनाएको छ । चन्द्रागिरि नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ । त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्याउन संस्थापन र इतर पक्ष तयार भएपछि निर्विरोध नेतृत्व छानिन लागेको हो ।
काठमाडौँका बाँकी नौवटा नगरपालिकामा नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको एउटा टिम बनेको छ भने इतर पक्षबाट प्रकाशमान सिंह र गगन थापाको अर्को टिम तयार गरिएको छ ।
सबैभन्दा धेरै चर्चा यसपालि काठमाडौं महानगरको चुनावको हुँदैछ । यहाँ १५ वर्षपछि चुनाव हुँदैछ भने मुख्य दुई समूहबीच प्रतिस्पर्धाको तयारी छ ।
काठमाडौंमा पछिल्लो समय पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा एकै ठाउँमा उभिएका छन् । साथै सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष पनि एकै ठाउँमा आइपुगेका छन् । कांग्रेसका यी दुई पक्षबीच काठमाडौँमा प्रतिस्पर्धा हुनेछ ।