काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको इतिहासमै पहिलो पटक विधान महाधिवेशन सुरु भएको छ । आज (शुक्रबार) देखि तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय हलमा भइरहेको विधान महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छ ।
अध्यक्ष ओलीले विधान महाधिवेशनको उद्घाटन पानसमा बत्ती बालेर गर्नुभयो । त्यस्तै उहाँले आफ्नो मोबाइलको बटनमा क्लिक गरेर पनि महाधिवेशनको उद्घाटन गर्नुभयो ।
यो विधान महाधिवेशनमा ओली नै प्रधानमन्त्री हुँदा शिलान्यास र उद्घाटन गरिएको सनराइज हलमा सुरु भएको हो । एमालेको विधान महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् । सहभागीमध्ये आधा संख्या हलमा अट्ने छन् भने आधालाई हल बाहिर राखिँदैछ । यो हल क्षेत्रमा एमालेका करिब ८ हजार नेता कार्यकर्ता उपस्थित छन् ।
सम्मेलनका सहभागीलाई लैजान ललितपुरको सातदोबाटोबाट सवारीसाधनको व्यवस्था गरिएको छ। अध्यक्ष ओलीलाई बालकोटबाट स्कर्टिङ गरेर गोदावरीसम्म लगिएको थियो ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालक सबैका लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशनस्थलमै व्यवस्थापन गरिएको छ ।