काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज (शुक्रबार) देखि सुरु भएको पहिलो विधान महाधिवेशनमा १ अध्यक्ष, ५ जना उपाध्यक्ष, ६ सचिवसहित २२५ जनाको केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको छ ।
विधान महाधिवेशनका लागि वितरित दस्तावेजमा राष्ट्रिय महाधिवेशनको अधिकार र कर्तव्य शीर्षकमा राष्ट्रिय महाधिवेशन सञ्चालन गर्न अध्यक्ष मण्डल र आवश्यक संयन्त्र गठन गर्ने प्रस्ताव गरिएको छ ।
एमालेले केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाइ महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी समावेशीकरण गर्ने पनि प्रस्ताव गरिएको छ ।
विधान महाधिवेशनमा पेश गरिएको दस्तावेजअनुसार अब एमालेमा एकजना अध्यक्ष, पाँचजना उपाध्यक्ष, एकजना महासचिव, ६ जना सचिव र सदस्य २१२ जनासहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव राखिएको छ ।
त्यसैगरी एमालेले प्रदेश कमिटीका सातजना अध्यक्षहरूलाई केन्द्रीय कमिटीका पदेन सदस्य राख्ने भएको छ ।
एमालेले १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव र १२ जना सदस्यसहितको केन्द्रीय अनुशासन आयोग बनाउने पनि प्रस्ताव गरेको छ । एमालेको जारी विधान महाधिवेशन पार्टी इतिहासमै पहिलो पटक हुन लागेको हो । प्रस्ताव अनुसार दुई राष्ट्रिय महाधिवेशनको बीचमा एउटा विधान महाधिवेशन गरिने लागेको छ ।