काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको इतिहासमै पहिलो पटक विधान महाधिवेशन आयोजना हुन लागेको छ । आज (शुक्रबार) देखि तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय हलमा विधान महाधिवेशन हुन लागेको हो । महाधिवेशनस्थललाई झकिझकाउ बनाइएको छ ।
यो विधान महाधिवेशनमा अध्यक्ष ओली नै प्रधानमन्त्री हुँदा शिलान्यास र उद्घाटन गरिएको सनराइज हलमा हुन लागेको छ । एमालेको विधान महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी हुने भएका छन् । सहभागीमध्ये आधा संख्या हलमा अट्नेछन् भने आधालाई हलबाहिर बस्ने ठाउँको व्यवस्थापन गरिएको छ । सम्मेलनका सहभागीलाई लैजान ललितपुरको सातदोबाटोबाट सवारीसाधनको व्यवस्था गरिएको छ । गोदावरीसम्म जाने बाटो बिग्रिएकाले ललितपुर क्षेत्रको यातायात पनि अस्तव्यस्त बनेको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालक सबैका लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशनस्थलमै व्यवस्थापन गरिएको छ ।
महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ देखि ११ बजेसम्म खानाको समय छुट्याइएको छ ।