काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको कार्ययोजना प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।
मेलम्ची पुनर्निर्माणबारे मन्त्रालयले एउटा कार्यदल गठन गरेको थियो । त्यो कार्यदलले पुनर्निर्माणमा अढाइ अर्ब लाग्ने अनुमानसहितको विशेष खालको कार्ययोजना मन्त्रालयमा बुझाएको थियो । उक्त कार्ययोजना लामो छलफलपछि प्रधानमन्त्री कार्यालय बुझाइएको हो । कार्ययोजनामाथि दसैंअगाडि नै मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले बताउनुभयो ।
यो कार्ययोजनामा मेलम्ची खानेपानी आयोजनामा रहेका दुइटा अस्थायी सुरुङ मर्मत गर्नुपर्ने, हेडवर्क्स मर्मत, मोटरेबल पुल मर्मत लगायत छन् ।
मेलम्ची खानेपानी आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार सडक निर्माण र मोटरेबल पुल बनाउन सडक विभाग र नेपाली सेना समेतको सहयोग लिइने कार्ययोजना छ ।
‘कार्ययोजना पेश गर्दा मुख्य(मुख्य क्षतिको विवरण उल्लेख थियो, बाढीले अकल्पनीय क्षति गरेका कारण मर्मतको लागत बढ्न पनि सक्छ,’ खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले भन्नुभयो । मेलम्ची नदीले अस्थायी रूपमा बनाइएको हेडवर्क्सको दसदेखि पन्ध्र मिटर क्षेत्रमा बालुवा(गिट्टी र लेदो थुपारेको छ। हेडवर्क्सलाई मर्मत गरेर चलाउन सकिन्छ भन्ने हालको अनुमान छ ।
‘नयाँ बनाउनु पर्ने वा अस्थायी रूपमा अर्को ठाउँमा बनाउनु पर्ने भयो भने पनि लागत बढ्ने र समय बढी लाग्ने हुन सक्छ,’ पन्तले बताउनुभयो । उहाँका अनुसार मेलम्चीको मुख्य सुरुङमा क्षति छैन। अम्बाथानको २९८ मिटर लामो अस्थायी सुरुङमा लेदो थुप्रिएको छ । त्यसलाई सफा गर्नुपर्ने भएको छ ।
त्यसैगरी, २१० मिटर लामो हेडवर्क्स र डाइभर्सनबीचको अस्थायी सुरुङमा पनि लेदो थुप्रिएको छ। त्यसलाई सफा र मर्मत गरेर सञ्चालन गर्न सकिने कार्ययोजना छ ।
यसैगरी, मेलम्ची छिर्ने मुख्य प्रवेश मार्गमा तीन वटा पुल, अम्बाथान र त्यसभन्दा पारिपट्टि अर्को गरेर पाँच वटा अस्थायी पुल निर्माण गर्नुपर्ने भएको छ ।
मेलम्चीमा आएको बाढीले पहिले भएका चार वटा मोटरेबल पुल बगाइदिएको छ । मेलम्ची बजारदेखि हेडवर्क्ससम्म पुग्ने करिब पाँच किलोमिटर सडक नयाँ निर्माण गर्नुपर्ने भएको छ ।
अस्थायी सुरुङ कति टालिएको छ, गेटहरूमा कति क्षति भएको छ भन्ने आँकलन पनि कार्ययोजनामा छ ।
अहिले मेलम्ची बजारदेखि माथि बिजुली नभएका कारण नयाँ पोलहरू गाडेर बिजुली लैजानुपर्ने वा त्यही सोलार प्यानल जडान गर्नुपर्नेबारे अवस्था रहेको पन्तले बताए।
कार्ययोजनामा मेलम्चीलाई अस्थायी रूपमा सञ्चालन गर्ने भन्ने मात्र छ । तर, मेलम्चीको मुहानमा रहेको हिमपहिरोले थुपारेको थेग्रिनीको जोखिमबारे भने कार्ययोजनामा उल्लेख छैन ।
यसबारे अलग्गै अध्ययन गर्नुपर्ने भएकाले कार्ययोजनामा नराखिएको आयोजनाको भनाइ छ। अर्को साल वर्षामा पुनस् थेग्रिनी बगेर आए मेलम्चीलाई क्षति गर्न सक्ने छ ।
गत असार १ गते पहिलोपटक मेलम्ची नदीमा बाढी आउँदा हेडवर्क्स, अस्थायी सुरुङमा क्षति हुनुका साथै बाढीले पुलहरू बगाएको थियो ।