काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल एमालेको आजदेखि प्रथम विधान महाधिवेशन सुरु हुँदैछ । सो महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । अध्यक्ष ओली कार्यकर्ताहरुको स्कर्टिङबाट विधान महाधिवेशन स्थल गोदावरी जानहुने भएको छ । उहाँलाई ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गर्दै गोदावरी पुर्याइने भएको हो ।
अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरुले उद्घाटन सत्रलाई सम्बोधन गर्ने तयारी गरिएको छ । उदघाटन समारोह सकिएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । ती प्रतिवेदनहरुमाथि समूहगत छलफल र समूह नेताबाट निष्कर्ष सुनाउने क्रम सुरु हुने छ । त्यसपछि सुझावलाई समेटेर प्रतिवेदनलाई पारित गरिनेछ ।
विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी रहन्छन् ।