काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधान महाधिवेशनको पूर्वसन्ध्यामा वागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ ।
विहीबार टुंगो लागेको प्रदेश महाधिवेशन आयोजक कमिटिमा आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव हुनुहुन्छ । ४ सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटीको इन्चार्जमा रामवहादुर थापा बादल रहनुभएको छ ।
प्रदेश महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले शुक्रबारदेखि सुरू हुने विधान महाधिवेशनमा भाग लिन पाउनुहुनेछ ।
यसअघि १० बुँदे सहमतिअनुसार जेठ २ अघिका इन्चार्जहरु नै कायम हुने भनिए पनि वागमतीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीसमेत रहेकाले सहमतिमै नेतृत्व टुंगो लागेको हो ।
शाक्यलाई प्रदेशको शीर्षस्थानमा राखेर काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेल सहइन्चार्ज राखिएको छ । केन्द्रीय सदस्य रचना खड्कालाई पनि पदाधिकारी तहमा राखिएको एमाले स्रोतले जनाएको छ ।