काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवा र सभामुख सापकोटाले एमालेसँग छलफल गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको समस्या समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निकास निकाल्नुपर्ने उहाँले बताउनुभयो ।
बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टराईले अहिलेको संसद अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयका कारण भएको जिकिर गर्नुभयो ।
‘खास गरी नेकपा एमालेले उठान गरेका जे मुद्दाहरु हुन्, ती मुद्दाहरुका बारेमा सत्तापक्षले वा सभामुखले हाम्रा आपत्तिहरुलाई आधार बनाएर समाधानमुखी तरिकाले डाइरेक्ट संवाद गर्दा भइगयो नि किन अरु गठबन्धनलाई भेला पारेर, अरु सबैसँग साँच्ची राखेर हामीसँग उहाँले बहस गर्नुपर्दैन, त्यो जरुरी हामी ठान्दैनौं, सिधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैं खुल्ला छौं,’ उहाँले भन्नुभयो ।
नेता भट्टराईले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छाडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानून विपरीत रहेको बताउनुभयो ।
आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा भूमिका खेलेको एमालेको आरोप छ । पछिल्ला दिनमा सरकारसँग पनि केही आपत्तिहरु थपिएको प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।
एमाले विभाजन गर्न नै हठात संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र संसदमा टेबल भएको त्यही अध्यादेशलाई अलपत्र छाडेर फेरि राष्ट्रपतिमार्फत खारेज गराएको भन्दै उहाँले भन्नुभयो, यो संविधान विपरित छ, नैतिक दृष्टिकोणले पनि उचित काम भएन ।’

























