काठमाडौं । शुक्रबारदेखि ललितपुरको गोदावरीमा आयोजना हुने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशनमा ६ हजारभन्दा प्रतिनिधि सहभागी हुने भएका छन् ।
सो महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले १२ः१५ बजे गर्ने कार्यक्रम रहेको छ ।
व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएअनुसार हलमा प्रतिनिधिहरुको सिट प्लानिङ गरिएको छ । पदाधिकारी एवं स्थायी कमिटी सदस्यहरु मञ्चमा हुनेछन् भने मूल हलमा ३ हजार प्रतिनिधि रहने गरी व्यवस्थापन गरिएको छ ।
दायाँ बायाँको हलमा एक-एक हजार प्रतिनिधि बस्नेछन् भने दुवै हलको प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर एक-एक हजार क्षमताका हल बनाइएको छ । सबै गरेर ७ हजार मानिसका लागि बस्ने व्यवस्था मिलाइएको व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले जानकारी दिनुभयो ।
सहभागीहरुलाई विहानको खाना र दिउँसोको खाजा महाधिवेशनस्थलमा नै व्यवस्था गरिएको छ । हरेक दिन विहान ९ देखि ११ बजेसम्म खाना खाने समय छुट्याइएको छ भने खाजा प्याकेटमा दिइने जनाइएको छ ।
साँझको खाना भने बास बसेकै स्थान र आफैं व्यवस्थापन गर्नुपर्नेछ । आवासका लागि प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरुको सहयोगमा प्रदेश कमिटीहरुले नै व्यवस्था गर्ने प्रबन्ध मिलाइएको व्यवस्थापन समितिले जानकारी गराएको छ ।