काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) सहभागी नहुने भएको छ ।
अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि प्रधानमन्त्री देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा नजाने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनभयो ।
प्रधानमन्त्रीले संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको छ ।
यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा पनि एमालेले सहभागिता जनाएको थिएन ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अध्यादेश ल्याएर आफ्नो दल फुटाएको र सभामुखको कार्यप्रति असन्तुष्ट जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।