काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा बहुमत ल्याएर एकल पाइलटवाला सुपरफास्ट जेट चलाउने दाबी गर्नुभएको छ । मंगलबार सम्पादकहरुसँगको छलफलमा नेकपा विभाजनको सन्दर्भलाई लिएर ‘दुई पाइलटले चलाएको विमान दुर्घटनामा पर्यो नि’ भन्ने प्रश्नमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
उहाँले विमान दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने नचल्ने बताउनुभएको छ । उहाँले दुई पाइलटले विमान राम्रोसँग चले पनि पार्टी भने नचल्ने बताउनुभयो ।
ओलीले भन्नुभयो,–‘प्लेन चाहिँ दुइटै पाइलटले चलाउँछन्, त्यो राम्रै चलेको पनि देखिन्छ । तर, पार्टीमा चाहिँ त्यस्तो नहुने रहेछ । अब चुनावपछि बहुमत ल्याएर एकल पाइलटवाला ‘सुपरफास्ट जेट’ चलाइन्छ ।’
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपामा दुई अध्यक्ष राखिएपछि ओलीले त्यसलाई दुई पाइलटले चलाएको जेटको संज्ञा दिनुभएको थियो । दुई पाइलटले कुशलतापूर्वक जेट चलाउँछौं भनेर सार्वजनिक अभिव्यक्ति आएकाले सम्पादकहरुले अध्यक्ष ओलीलाई सो प्रश्न राखेका थिए ।