काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार जानुभएको छ । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटार जानुभएको हो ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्नुभएको हो । सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे पेरिसडाँडामा बस्दैछ ।
प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहनुभएको छ । गत असार २९ गते प्रधानमन्त्री बन्नुभएका देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएको छैन ।
यसअघि सत्तारुढ गठबन्धनमा राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको थियो । सहमतिअनुसार नै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ । गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्रालय राख्ने सहमति भइसकेको छ । माओवादी, एकीकृत समाजवादी र जसपाले १–१ राज्यमन्त्रीसमेत पाउने सहमति भएको छ ।