काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत् कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाउनुभएको छ । उहाँले सरकारले कालोधन ल्याउन खाेजे त्यसको प्रतिवाद गर्दै हरसम्भव ल्याउन नदिने उद्घोष गर्नुभयो ।
मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा प्रमुख विपक्षी दलका नेता ओलीले सरकारको यो निर्णयले नेपालमा विपत्ति ल्याउने भन्दै त्यसको कडा प्रतिरोध गर्न आह्वान गर्नुभयो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले सरकारले कालो धनलाई सेतो बनाउनका लागि यो व्यवस्था गरेको भन्दै आफ्नो पार्टीले कालो धनलाई सेतो बनाउन नदिने बताउनुभयो । ‘कालो धनलाई ल्याउन नदिने पक्षमा छैनौं, कालो धनलाई सेतो बनाउन पाइँदैन । जस्तोसुकै भए पनि लगानी गर्न पाउने भन्नु डरलाग्दो कुरा हो’उहाँले भन्नुभयो, ‘यसले नेपालमा बिपत्ति ल्याउँछ ।’
अध्यक्ष ओलीले अहिलेको संसद राम्रोसँग नचलेको भन्दै ताजा जनादेशमा जानुको विकल्प नरहेको जिकिर गर्नुभयो । ‘संसद चलिरहेको छैन, चुनाव आवश्यक छ । ताजा जनादेशमा जानुपर्छ’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि पनि प्रश्न उठाउनुभयो । सापकोटा हालको सत्तारुढ गठबन्धनको पक्षमा देखिएको पनि उहाँले बताउनुभयो ।