काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले कुनै पार्टीप्रति लक्षित गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएकोमा आपत्ति जनाउँदै सरकारले कस्तो खालको अग्रगमन खोजेको भन्दै प्रश्न गर्नुभएको छ ।
मंगलबार सम्पादकहरुसँगको छलफलमा उहाँले दूषित मनसायले अध्यादेश ल्याएकोमा देउवा सरकारको कडा शब्दमा आलोचना गर्नुभएको छ । उहाँले आफ्नो पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले परमादेशबाट सरकार बन्दा केहीलाई हाइसन्चो भए पनि यसले लोकतन्त्र कमजोर पार्ने बताउनुभयो । ‘अहिले कतिलाई हाइसन्चो छ तर दीर्घकालमा देश र लोकतन्त्रले हार्छ । हामी लोकतान्त्रिक प्रणालीको भविष्य प्रति चिन्तित छौं’ उहाँले भन्नुभयो ।
देउवा सरकारले २ भदौमा संसदीय दल वा पार्टीको केन्द्रीय समितिको २० प्रतिशत संख्या भएमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।
सो अध्यादेशअनुसार नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो भने जनता समाजवादी दल विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ । सो अध्यादेश सरकारले सोमबार भने खारेज गरेको छ ।
संघीय संसद चलिरहेको अवस्थामा देशलाई तत्काल आवश्यक परेमा मात्र अध्यादेश ल्याउन सकिने भन्दै अध्यक्ष ओलीले चलिरहेको संसद अचानक बन्द गरेर अध्यादेश ल्याउनु संविधान विपरीत र अलोकतान्त्रिक भएको बताउनुभयो । उहाँले कुनै पार्टीप्रति लक्षित गरेर अध्यादेश ल्याइएको पनि बताउनुभयो ।
‘पछिल्लो पल्ट त त्यही उद्देश्य (अर्काको पार्टी विभाजन) का साथ चलिरहेको अधिवेशन अन्त्य गरेर भोलिपल्ट विहान अध्यादेश ल्याउने काम भयो । यो संविधानसम्मत भएन’ उहाँले भन्नुभयो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले अहिलेको सरकारलाई खबरदारी नपुगेको पनि बताउनुभयो । आफ्नो सरकारलाई सञ्चार माध्यमले खबरदारी गरेर धेरै सहयोग गरेको भन्दै उहाँले त्यसका लागि सम्पादकहरुलाई धन्यवाद दिनुभयो ।
‘सरकारलाई खबरदारी गरेन भने लापरबाहजस्तो हुँदोरहेछ, जस्तो अहिलेको सरकार’ उहाँले भन्नुभयो, ‘अहिलेको सरकारलाई खबरदारी पुगेन, संविधान कानुनको मतलब छैन ।’ उहाँले संविधान मिचिँदा पनि सञ्चारमाध्यम चुप लागेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।