काठमाडौँ । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्को मानमर्दन गर्दै राष्ट्रपतिमार्फत राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकोमा आपत्ति प्रकट गर्नुभएको छ ।
मंगलबार बिहान कानुन, संसदीय तथा न्याय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले उक्त अध्यादेश सरकारले असंवैधानिक, षड्यन्त्रपूर्ण र बद्नियतपूर्ण तरिकारले जारी गरेको पुष्टि भएको दाबी गर्नुभयो ।
ओलीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा ओलीले कानुनमन्त्री कार्कीमार्फत प्रधानमन्त्रीलाई पठाएको सन्देशमा मध्यरातमा संसद् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलको विरुद्धको षड्यन्त्र भएको बताइएको छ ।
अध्यक्ष ओलीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ- “सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ ।”
विज्ञप्तिमा उल्लेख गरिएको छः “चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो ।”
अध्यक्ष ओलीले कानुन मन्त्रीसँगको भेटमा उहाँमार्फत् आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्रीसमक्ष पठाउनुभयो ।