काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाविधेशनको तयारी पूरा भएको छ ।
असोज १५ गतेदेखि १७ गतेसम्म हुने सो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलनमा गर्ने तयारी गरिएको छ । एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको समयमा सो सभाहल उद्घाटन गर्नुभएको थियो ।
३ हजार क्षमताको मुख्य हलसहित निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र (गोदावरी सनराइज) को भवन देशकै पहिलो अत्याधुनिक भएको बताइएको छ । महाधिवेशनको तयारीका लागि सम्मेलनस्थलको निरीक्षण गरिएको एमाले नेता खिमलाल भट्टराईले बताउनुभयो । महाधिवेशन गर्नका लागि तयार गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचारप्रसार समिति संयोजक खिमलाल भट्टराईले सोमबार महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिनुभयो ।
एमालेको प्रथम विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी हुने भएका छन् । सोही अनुसार सभाहलको व्यवस्थापन गरिएको छ ।
यसअघि भदौ १५ गते पनि महाधिवेशन व्यवस्थापन समिति संयोजक रामबहादुर थापा बादलसहित समितिका सदस्यहरू शेरबहादुर तामाङ, खिमलाल भट्टराई, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल, पासाङ शेर्पा तथा ललितपुरका नेता हरिकृष्ण व्यञ्जनकार, मधुसुदन पौडेल र पुरुषोत्तम आचार्यको टोलीले सभाहलको अनुगमन निरीक्षण गरेको थियो ।
एमाले विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकाय (निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्च) का सबै पदाधिकारी र सदस्यको सहभागिता रहने बताइएको छ ।
केन्द्रीय विभागबाट सचिवसहित ५ जना, जिल्ला कमिटीका पदाधिकारीसहित निर्वाचन क्षेत्रबाट एक महिला र कम्तीमा एकजना दलितले जिल्लाबाट प्रतिनिधित्व गर्ने कार्यक्रम रहेको छ ।
यसका साथै घोषित जनसंगठनबाट पदाधिकारीसहित वरिष्ठतम् १० जना सदस्यले भाग लिनेछन् । प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले पनि विधान महाधिवेशनमा भाग लिन पाउने भएका छन् ।
विधान महाधिवेशनमा लगिने सांगठनिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव आइतबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको छ । महाधिवेशनमा भाग लिने प्रतिनिधिको अन्तिम टुंगो भने आज लाग्ने एमाले स्रोतले बताएको छ ।