काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)को विरोधका बीच राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ ।
सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए र समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताउनुभयो ।
तर, सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथिको दफाबार छलफल अगाडि बढाउनुभयो । दफाबार छलफलमा कुनै पनि सांसदले भाग लिनुभएन र सभाले दुवै विधेयक बहुमतले पारित गर्यो ।
दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ ।
अब आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाले पारित गरेको सन्देश पेश हुनेछ र प्रतिनिधिसभाले सभामुख हुँदै प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ र प्रमाणिकरण भएपछि कार्यान्वयनमा जानेछ ।