काठमाडौं । बुढीगण्डकी आयोजना तत्काल अघि बढाउन माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । आयोजना निर्माणमा ढिलाइ भएको भन्दै गोरखा र धादिङका वासिन्दाले आइतबार काठमाडौंमा दबाबमूलक प्रदर्शन गरेका हुन् ।
आयोजना डुवान क्षेत्रमा विकास निर्माणको काम ठप्प भएको र आफूहरु सुकुम्बासी हुने स्थिति आएको भन्दै प्रभावित क्षेत्रका वासिन्दाले आयोजना छिटो शुरु गर्न माग गरेका हुन् ।
बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको आयोजनामा असोज ४ गतेदेखि माइतीघरमा धर्नामा बसेका प्रभावित क्षेत्रका वासिन्दा आइतबार नाराबाजी र प्रदर्शन गर्दै बानेश्वरसम्म आएका हुन् ।
पानी परिरहेका बेला रुझ्दै प्रभावित क्षेत्रका वासिन्दा नारा लगाउँदै माइतीघरबाट वानेश्वरतर्फ आएका थिए । उनीहरुले बुढीगण्डकी आयोजना छिटो बनाऊ, बुढीगण्डकी आयोजनामा राजनीति बन्द गर, हामीलाई सुकुम्बासी बनाउन पाइँदैनलगायतका नारा लगाएका थिए ।
बुढीगण्डकी प्रभावितले बुढीगण्डकी आयोजना निर्माणको मोडालिटी छिटो टुंग्याउनुपर्ने, घर, गोठ, बोटविरुवाको मुआब्जा दिनुपर्ने, दर्ता छुट भएका जग्गाको भोगचलनको आधारमा मुआब्जा दिनुपर्ने, सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गरेकाहरुलाई मापदण्ड बनाएर मुआब्जा दिनुपर्नेलगायतका माग राखेका छन् ।
बुढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले एक हप्ता धर्ना बस्दा पनि सरकारले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै अब सिंहदरबार र बालुवाटार घेराउ गर्ने चेतावनी दिनुभयो ।
प्रदर्शनकारीहरुले देउवा सरकारले आयोजना निर्माण गर्न आनाकानी गरेकाले दबाबमूलक प्रदर्शनी गर्नुपरेको बताएका छन् । उनीहरुले आयोजना निर्माणमा अझै ढिलासुस्ती गरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।