चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ले चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध चुनाव लड्न तयार रहेको बताउनु भएको छ ।
शुक्रबार भरतपुर विमानस्थलमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले प्रचण्ड समाजवाद र राष्ट्रियता विरोधी भएको बताउँदै उहाँसँग चुनाव लड्न आफूलाई कुनै समस्या नभएको स्पष्ट पार्नु भएको छ ।
एमालेमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयन भए पनि आफ्नो जिम्मेवारी कायमै रहने वताउँदै थापाले प्रचण्ड अझै एक्लिँदै जाने दाबी पनि गर्नु भएको छ ।
प्रचण्ड दक्षिणपन्थी भासतिर लागेर पार्टीको लाइनबाट विचलित भइसकेपनि आफू राष्ट्रियता, समाजवाद, र समृद्धिको नाराबाट विचलित नभएको थापाले दावी गर्नु भएको छ ।
पूर्व गृहमन्त्रीसमेत रहनु भएका थापाले नेपालका ठूला लगानीमा आम्दानीको स्रोत खुलाउनु नपर्ने नीति ल्याएर गठबन्धन सरकारले कालोधनलाई वैधानिकता दिन खोजेको आरोप लगाउनु भएको छ ।
गृहमन्त्रालयले मित्रराष्ट्रमाथि आँच आउने गतिविधि नगर्न र नबोल्न भन्दै सूचना निकालेको स्मरण गर्दै नेता थापाले लिम्यिाधुरा प्रकरणमा भारतीय हस्तक्षेप होस् या अमेरिकी परियोजना एमसीसीबारे होस्, विरोध गर्न पाइँदैन भनेर गृहमन्त्रालयले निकालेको सूचना राष्ट्र विरोधी र लोकतन्त्र विरोधी भएको बताउनु भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र र विधिको शासन उल्लघन गरिरहेको भन्दै उहाँले सभामुखले निष्पक्ष निर्णय गर्न नसकेकै कारण बिरोध गर्नुपरेको उल्लेख गर्नुभयो ।