काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।
बैठक सुरु हुनेवित्तिकै सदाझैं एमाले सांसदहरु संसदको वेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अघि बढाउनुभयो ।
उहाँले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गर्न अनुमति दिएपछि शर्माले निर्णयार्थ पेश गर्नुभयो । उहाँले विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा सुनाउनुभएको थियो ।
बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।