काठमाडौं । ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ शुभारम्भ भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने वैठकको उद्घाटन आज जंगी अड्डामा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको छ । उक्त कार्यक्रममा प्रधान सेनापति, रक्षा सचिव, जङ्गी अड्डाका पि.एस.ओज. रथीबृन्द, सबै कमाण्डका कमाण्ड सेनापतिहरु लगायत विभिन्न महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा शुभारम्भ मन्तव्य राख्नु हुँदै प्रधानमन्त्री तथा रक्षामन्त्री देउवाले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्गको रुपमा रहेको नेपाली सेनाको रणनैतिक तहमा सञ्चालन हुने अन्तर्क्रिया र छलफलहरुले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्दै सम्बन्धित विषयहरुमा साझा बुझाई निर्माण गरी ती चुनौतीहरुको सामना गर्न समय–सान्दर्भिक प्रतिकारात्मक उपायहरुको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ ।
साथै, उहाँले नेपाली सेनाद्वारा भईरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालन गर्न योजना गरेका दीर्घकालीन महत्वका कार्यहरुमा श्रोतको सुनिश्चितता गर्न सरकारको हरसम्भव प्रयास रहने समेत जानकारी गराउनु भएको छ ।

त्यस्तै स्वागत मन्तव्य राख्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र सरकारका विधिसम्मत आदेशहरु अक्षरसः पालना गर्न कटिबद्ध रहेको वताउनु भयो । उहाँले संगठनलाई प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा अडिग रहने छ भन्ने विश्वास व्यक्त गर्नु हुँदै देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्व संग सरोकार राख्ने सबै प्रकारका गतिविधिहरुका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै रहेको र त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतिहरुलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको समेत जानकारी गराउनु भएको थियो ।
सो अवसरमा आफ्नो मन्तव्य राख्नु हुँदै रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले राष्ट्रिय सुरक्षाको संरक्षण र सम्बर्धनका लागि नेपाली सेनाले अघि सारेका सबै योजनाहरु, मूलतः नेपाली सेनाको दीर्घकालिन सोच–२०८७ तथा पुनर्संरचनाका कार्यहरुको सफल कार्यान्वयनमा नेपाली सेनालाई आवश्यक पर्ने सुझाव वा सहयोग एवं सहजिकरणका लागि मन्त्रालय सदैव प्रतिबद्ध रहेको जानकारी गराउनु भएको थियो ।

सोही कार्यक्रममा प्रधानमन्त्री तथा रक्षामन्त्रीको समुपस्थितीमा नेपाली सेना र रक्षा मन्त्रालयको तर्फबाट प्रधान सेनापति र रक्षा सचिवबीच कार्य सम्पादन सम्झौता समेत भएको थियो ।
समन्वयात्मक बैठकको दौरान नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण गरिने कार्यक्रम रहेको बताइएको छ ।
यस्ता किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात् प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्याउने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।




















