काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले छिट्टै पूर्णता पाउने दाबी गर्नुभएको छ । सोमबार नयाँ बानेश्वस्थित प्रतिनिधिसभा संसद् भवनबाट बाहिरिनेक्रममा पत्रकारसँग कुरा गर्दै देउवाले यस्तो दाबी गर्नुभएको हो । तर उहाँले कहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ भन्नेचाहिँ बताउन सक्नुभएन ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने तयारी भइरहेको जानकारी दिनुभयो । यसबारे सत्तारुढ दलहरुबीच छलफल भइरहेको उहाँको भनाइ छ ।
उहाँले यतिमात्रै भन्नुभयो- ‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ। ’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि ५ गतेभित्र मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभएको थियो ।
उता गठबन्धनकै एक घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । यादवले दल विभाजनका लागि ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भएको टिप्पणी गर्नुभयो ।
प्रतिनिधिसभा बैठकपछि सोमवार संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै यादवले अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको हो । सत्ता गठबन्धनका नेता यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भएको समेत बताउनुभयो ।
अध्यक्ष यादवले सरकारले पूर्णता पाउन मन्त्रालयको टुंगो नै नलागेको बताउनुभयो । ‘सरकारले पूर्णता पाउन मन्त्रालयको भागबण्डा टुंगिनुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यो अहिलेसम्म हुन सकेको छैन।’
‘दलसम्बन्धी ल्याएको अध्यादेश फिर्ता भएको छैन, त्यो खारेज हुन्छ, खारेज हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ’, यादवले भन्नुभयो । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले सोही दिन कांग्रेसबाट २ र माओवादीबाट २ जनामन्त्री नियुक्त गर्नुभएको थियो ।
त्यसपछि विभिन्न विवादका कारण सरकारले पूर्णता पाउन सकिरहेको छैन । खासगरी अध्यादेश र अमेरिकी आर्थिक सहयोग प्याकेज एमसीसीबारे सत्ता गठबन्धन दलबीच नै कुरा मिल्न सकेको छैन ।