काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा अस्वभाविक ढिलाई भइरहेको बताउनुभएको छ ।
सोमबार काठमाडौंको माइतिघरमा बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सुरु गरेको धर्नामा ऐक्यवद्धता जनाउँदै भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा भएको अस्वभाविक ढिलाइलाई पन्छाउदै वर्तमान सरकारले यसलाई अघि बढाउनुपर्ने बताउनुभएको हो । सरकारले जनताको जायज मागलाई सम्बोधन गर्दै आयोजना अघि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले आयोजनाको काम लामो समयसम्म पनि सम्पन्न हुन नसक्नु लज्जास्पद भएको टिप्पणी गर्नुभयो । परियोजना पुरा गर्नका लागि स्थानीयहरु नै धर्नामा बस्नु दुर्भाग्य रहेको भट्टराईले बताउनुभयो ।
आयोजनाका डुबानपीडित बिभिन्न माग अघि सार्दै पुन आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले मुआब्जा पाउनुपर्ने जग्गाको तत्काल मुआब्जा वितरण गर्नुपर्ने, घरबस्ती भएको जग वा सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा समितिले तोकेको मूल्यमै वितरण गर्नुपर्ने लगाएतका माग राखेका छन् । उनीहरुले असोज १० गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।