खाँदबारी । संखुवासभा सामूहिक हत्या प्रकरणका थप चारजना अभियुक्तलाई सार्वजनिक गरिएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई पक्राउ गरिएको एसपी भीम दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार पक्राउ पर्नेमा लोकबहादुरका बुबा रणबहादुर कार्की, भाइ नरेश कार्की, काका खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर कार्की छन् । अनुसन्धानबाट घटनाको मुख्य योजनाकार काका खड्गबहादुर भएको खुलेको उहाँले बताउनुभयो ।
घटना हुनु अघिल्लो दिन राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ । २१ भदौमा तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा तेजबहादुर र कमलको हत्या गर्ने योजना बनाएको पाइएको प्रहरीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।
अन्यले थाहा पाए उनीहरुको पनि हत्या गर्ने योजना रहेको प्रहरीले भनेको छ ।
२१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो । ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय लोकबहादुर कार्की र उनका भाइ नरेशलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो ।