वीरगञ्ज । पोखरीमा डुबेर वीरगञ्जमा दुई किशोरको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय मुन्ना भनिने आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको ज्यान गएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले बताउनुभयो ।
वीरगञ्ज–१२ स्थित मुर्ली पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुवैजनाको मृत्यु भएको हो । दुवै जना किशोर शुक्रबार दिउँसो घरबाट खेल्न भनी निस्किएको र अपरान्ह ४ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी शुरु गरेका थिए ।
मुर्ली पोखरी नजिकै उनीहरुले लगाएको लुगा र चप्पल फेला परेपछि पोखरीमै डुबेको आशंकामा उनीहरुको खोजी शुरु गरिएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार बेलुका ८ बजेतिर उनीहरुलाई पोखरीमा फेला पारी निकालिएको थियो ।